ईपीएस आन्दोलनकारीद्वारा बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

सहयात्रा टिभी

काठमाडौं । पुस १३, रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

 

बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका छन् ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।

प्रकाशित : 29 December, 2023

प्रतिक्रिया दिनुहोस्