प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अब ३ जना मात्रै सचिव

काठमाडौं । पुस १३, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अब ३ जना मात्रै सचिव रहने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी हटाउने गरी नयाँ संगठन संरचना स्वीकृत गरेसँगै प्रधानमन्त्री कार्यालय छरितो बनाउने बाटो खुलेको छ ।
नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे )अनुसार प्रधानमन्त्री कार्यालयको काटिएको दरबन्दीका कर्मचारीहरु अब अन्यत्र काम गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने घोषणा गरेअनुरुप सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् ।
नयाँ संगठन संरचनामा सूचना प्रविधिसम्बद्ध जनशक्तिको दरबन्दी थप्नैपर्ने भएकाले अन्य प्रशासनिक दरबन्दी कटौती गर्दा पनि संगठनको आकारमा ठूलो फेरबदल हुन नसक्ने मन्त्रालयहरुको प्रारम्भिक निष्कर्ष छ ।