राष्ट्रको नाममा सम्बोधनलाई धामीको मन्त्रजस्तो भनेर ओलीको टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । पुस १३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् ।

चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरेका हुन् ।

धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भने, ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छर त्यसमा ?’ प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको भनाइ थियो ।

ओलीले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रुपमा भन्न चुनौती दिए ।

नेकपा एमालेले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै ओलीले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए ।

नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै ओलीले उनीहरु एजेण्डाविहीन पनि भएको बताए । तर एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी उनले गरे ।

 

प्रकाशित : 29 December, 2023

प्रतिक्रिया दिनुहोस्