युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो मिसाइल आक्रमण, ३० जनाको मृत्यु
काठमाडौं । पुस १४, रुसले युक्रेनमा गरेको अहिलेसम्मकै ठूलो मिसाइल आक्रमणमा ३० जना मारिएका छन्।
रुसले शुक्रबार बिहानदेखि नै किएभ, ओदेसा, निप्रोप्रेट्रोभस्क, खर्किभ र ल्भिभमा आक्रमण सुरु गरेको थियो। जसमा १६० भन्दा धेरै मानिस घाइते भएका छन्।
रुसले आफ्नो भण्डारमा रहेका लगभग सबै हतियार प्रयोग गरेर प्रसूति अस्पताल र घरहरुलाई लक्षित गरेर आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
युक्रेनी सेनाका अधिकारीहरुले एकैपटक यति धेरै मिसाइलहरु प्रक्षेपण गरिएको पहिलोपटक देखिएको बताएका छन्।
पछिल्ला महिनाहरुमा किएभको हवाई सुरक्षामा व्यापक सुधार गरिएको बताइन्थ्यो। तर शुक्रबारको आक्रमणमा हवाई सुरक्षा प्रणाली निस्प्रभावी देखियो।
युक्रेनको वायु सेनाका १ जना प्रवक्ताका अनुसार रुसले एक्स–२२ प्रकारसहित हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ। जसलाई रोक्न मुस्किल छ। उनले भने, ‘हामीले कहिल्यै पनि एकसाथ यति धेरै ठाउँमा निशाना लगाइएको देखेका थिएनौं।’
रुसले १५८ मिसाइल तथा ड्रोनबाट हमला गरेकोामा ११४ वटालाई खसालेको युक्रेनी सेनाको दाबी छ।
रुसको आक्रमणबाट राजधानी किएभमा ९ जना मारिएका छन्। हवाई हमलाविरुद्ध आश्रयस्थलको रुपमा प्रयोग हुँदै आएको एउटा मेट्रो स्टेशनमा पनि हमला भएको छ।
यसअघिका आक्रमणबाट प्राय बच्दै आएको पश्चिमी शहर ल्भिभमा पनि आक्रमण भएको छ। देशको उत्तरी सीमाको नजिक रहेको सुमी क्षेत्रको कोनोटोप शहरमा पनि मिसाइल आक्रमण भयो। अधिकारीहरुका अनुसार हमलाबाट ओदेसा शहरमा एउटा ठूलो भवनमा आगलागी भएको थियो, ४ जना मारिए भने २२ जना मारिए।
पछिल्लो रुसी बमबारीप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘विश्वका लागि एक कडा सम्झना’को रूपमा वर्णन गरे। ‘यो विनाशकारी युद्धको लगभग २ वर्षपछि, पुटिन (रुसी राष्ट्रपति)को उद्देश्य अपरिवर्तित छ। उनले युक्रेनलाई नष्ट गर्न र त्यहाँका जनतालाई वशमा पार्न खोज्छन्,’ बाइडेनले भने।