कवि सविता भट्टराईको ‘सविताका सिर्जनाहरु’ विमोचन

काठमाडौं । पुस १४, कवि सविता भट्टराईको ‘सविताका सिर्जनाहरु’ नामक कृतिको विमोचन गरिएको छ ।
यही पुस १० गते काठमाडौंको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित कार्यक्रममा छन्द सारथि रमेश खकुरेलले उक्त कृतिको विमोचन गरेका हुन् ।
कृतिबारे कवि प्रभा भट्टराईले समीक्षा गरेकी थिइन् । कार्यक्रममा विमोचित कृतिको रचना वाचन प्रतिभा निकुञ्जका सदस्य कविहरु रामचन्द्र घिमिरे, दिनेश पाण्डेय, उत्तम विचार र दिव्यचन्द्र आचार्यले गरेका थिए ।
प्रतिभा निकुञ्जका कवि एवं वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेको सभापतित्वमा भएको कार्यक्रममा स्वर्गीय कवि सविताकी सुपुत्री नीलम शर्माले माल्यार्पण गरेकी थिइन् ।
कार्यक्रममा साझा प्रकाशनका पूर्व महाप्रबन्धक कवि प्रह्लाद पोखरेल, नेपाली परिषदका अध्यक्ष रमा शर्मा, प्रतिभा निकुञ्जका संरक्षक छन्द सारथि रमेश खकुरेल र कार्यक्रमका सभापति एवं प्रतिभा निकुञ्जका कवि मुकुन्द शर्मा चालिसेले मन्तव्य व्यक्त गरेका थिए । यस्तै लेखकका श्रीमान् बुद्धिनाथ भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । विमोचन कार्यक्रममा सहभागीहरुलाई पुस्तक वितरणसमेत गरिएको थियो ।