बालकुमारी घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन हुँदै

सहयात्रा टिभी

काठमाडौं । पुस १५, शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ ।

 

युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट र्‍यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका थिए ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकमा कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । युवाहरुले सोही ठाउँमा शनिबार पनि विरोध प्रर्दशन गरेका थिए ।

आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

साथै, मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।

आन्दोलनकारीहरूले टायर बाल्ने र नाराबाजी पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्