मेलम्ची खानेपानीको काम अन्तिम चरणमा

काठमाडौँ । पुस १९, मेलम्ची खानेपानी आयोजना मर्मत र पानी पथान्तरणको काम अन्तिम चरणमा पुगेको छ ।
२०७८ साल असारमा बाढीले क्षति पुर्याएका संरचना मर्मत गरी काठमाडौंवासीका घरघरसम्म पानी पुर्याउन भइरहेको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
सिनियर डिभिजनल इन्जिनियर कुँवरले अबको १० दिनभित्र काम सम्पन्न हुने बताएका छन् । उनले राष्ट्रिय समाचार समिति (रासस)सँग भनेका छन्, ‘अबका बाँकी काम केही कठिन छ । जस्तोसुकै परिस्थिति आए पनि १० दिनभित्र काम सम्पन्न हुन्छ ।’
उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए । सरकारले पुस महिनाभित्र मेलम्चीको पानी वितरण गरिसक्ने लक्ष्य राखेको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार ठेकेदार कम्पनीलाई काममा खटाइएको थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए ।