उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने इजरायलको दाबी
काठमाडौँ । पुस २२, इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ ।
गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो । सोही क्रममा हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको छ ।
हमासले ७ अक्टुबरमा इजरायलमाथि एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार १४० जनाको मृत्यु भएको थियो ।
हमासले नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएको थियो । केहीलाई हमासले मुक्त गरे पनि विपिनसहित १३२ जना अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ ।
सो आक्रमणबाट क्रुद्ध भएको इजरायलले हमासलाई निमिट्यान्न पार्ने कसम खाँदै अन्धाधुन्द आक्रमण सुरु गरेको थियो ।
इजरायलको आक्रमणबाट २२ हजार ७०० जनाभन्दा धेरै व्यक्तिको मृत्यु भएको गाजा क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् । इजरायलको आक्रमणबाट कयौं विस्थापित भएका छन् ।
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले गाजाको उत्तरी क्षेत्रमा सैन्य अभियान सफल भएको भन्दै अब मध्य र दक्षिणी क्षेत्रमा सैन्य अभियान सुरु हुने र त्यो फरक तरिकाको हुने बताएका छन् ।