त्रिविको उपकुलपतिको लागी दलको सदस्य नरहेको स्वघोषणा पत्र पनि पेश गर्नु पर्ने

काठमाडौँ । पुस २३, त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।
कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्नेछ ।
कार्यविधिमा भनिएको छ, ‘प्रचलति कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ ।’
साथै त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई पनि दरखास्त दिनबाट वञ्चित गरिएको छ । जारी कार्यविधि अनुसार त्रिविको उपकुलपतिमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने छन् ।
सोमबार जारी कार्यविधिमा न्युनतम योग्यतामा कुनै पनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने, उम्मेद्वारको शैक्षिक योग्यता न्युनतम स्नातकोत्तर हुनुपर्ने उल्लेख छ ।