ट्रंक लाइन विवाद समाधानका लागि आयोग गठन गर्न सांसदहरुद्धारा माग

सहयात्रा टिभी

काठमाडौं । पुस २४, सरकारले छानबिन सिमिति गठन गरेर डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद समाधान गर्नुपर्ने माग सांसदहरुले गरेका छन् ।

 

मंगलबार संसद्को भौतिक पूर्वाधार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । बैठकमा सांसद मिना लामाले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि आयोग गठन गर्न माग गरेकी छन् ।

बैठकमा उनले आयोग गठन गरेर समस्याको समाधान खोजिनु पर्नेमा जोड दिइन् । ‘सरोकारवालाहरु सहितको आयोग गठन गरेर १५ दिनभित्र समस्याको समाधान खोजिनुपर्छ,’ उनले भनिन् ।

‘उद्योगीको जायज माग सम्बोधन गर्नुपर्छ । उद्योगको विद्युत् काट्नु नै समस्याको समाधान होइन,’ उनले भनिन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति रोक्दा आर्थिक मन्दी भएमा प्राधिकरणकै अक्षमता देखिने उनले बताइन् ।

उद्योगहरूले पनि आफ्नो दायित्व बुझेर बक्योता बिल फर्छ्यौट गर्नुपर्ने उनको सुझाव थियो ।

डेडिकेटेड र ट्रंक लाइन विवादबारे सर्वोच्च अदालतमा परेको पुनरावेदनको फैसला आउन किन ढिलो भएको भन्दै उनले प्रश्न गरिन् ।

बैठकमा अर्की सांसद सुशीला श्रेष्ठले पनि आयोग गठन गरेर ट्रंक लाइन विवाद समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यानदिनु पर्नेमा जोड दिइन् ।

 

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्