गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो
काठमाडौं । पुष २६, अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।
भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई हिजो नै प्रस्ताव पठाइएको बताइन् ।