माघ ११ देखि मण्डलामा मञ्चन हुँदै नाटक ‘मासिन्या’
सहयात्रा टिभी
काठमाडौं । पुस २६, थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाको लेखन रहेको नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले सदिऔंदेखि भोगेको पीडा र संघर्षको कथालाई समेट्ने जमर्को गरिएको नाटकले मुलतः समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिले बताए ।
उनका अनुसार तामाङको कारुणिक कथासँगै नाटकमा तामाङ जीवनको लय, सौर्न्दर्य, संस्कृति र परिवेशलाई चित्रण गरिएको छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने अर्का निर्देशक सोनामको ठम्याइ छ । हाल बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरु आवद्ध छन् ।