माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । पुस २८, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुनुका साथै पार्टीको चार महिने अभियानको समीक्षा हुने महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीले आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरिसकेको छ । जसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति समेत गठन गरेको थियो।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको छ । त्यस्तै चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म चार महिने रूपान्तरण अभियान चलाएको थियो। स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ ।

प्रकाशित : 13 January, 2024

प्रतिक्रिया दिनुहोस्