नारायणगढ–मुग्लिन सडकमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला

सहयात्रा टिभी

काठमाडौं । पुस २९, नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ ।

देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

गत साल कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्न काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो ।

 

 

प्रकाशित : 14 January, 2024

प्रतिक्रिया दिनुहोस्