सम्पादकीय : भूकम्पको चोट र जोखिम भुल्न मिल्छ ?

सहयात्रा टिभी

नेपालको तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको विज्ञको भनाइ छ । विज्ञका अनुसार एउटै भूकम्प नेपालको पूर्वदेखि पश्चिमसम्म गएको छैन । त्यसैले पनि नेपालको पूर्व, मध्य र पश्चिम भूभाग फरक धरातलमा रहेको पुष्टि भएको विज्ञ बताउँछन् । पूर्वमा १९९० सालमा भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गएको थियो । त्यसपछि पूर्वमा ठूलो विनाशकारी भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ बैशाख १२ गते ७.८ रेक्टरस्केलको भूकम्प गयो । तर अझै पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम छ । त्यसैको संकेत स्वरुप अहिले पनि बेलाबेलामा नेपालको पश्चिमी भूभागमा ससाना भूकम्प जाने क्रम जारी छ । मध्य क्षेत्रमा एक सयदेखि एक सय दुई वर्षमा ठूला भूकम्प गएको देखिन्छ । पूर्वमा र पश्चिममा ठूलो भूकम्प जाने जोखिम कायमै छ ।

पाँच सय वर्षदेखि पश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चय भएको छ । पूर्वी नेपालमा पनि शक्ति सञ्चय भइरहेको छ । विज्ञको विश्लेषणअनुुसार नेपाल पूर्ण रुपमा भूकम्पीय जोखिममा छ । पछिल्लो रेकर्ड अनुसार सन् १५०५ मा गोरखाबाट पश्चिमको क्षेत्रमा ठूलो भूकम्प गएको देखिन्छ । पश्चिम नेपाल बढी जोखिममा रहेको भन्न सकिन्छ । तर सबै हिमालयरेन्जनै भूकम्पको जोखिममा छ । पश्चिम नेपालमा झन्डै पाँच सय वर्षको हाराहारीमा भूकम्प गएको र पछिल्लो पाँच सय वर्षसम्म ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल भूकम्पको जोखिममा छ । नेपालको हिमाल, पहाड र तराई जुन संरचना बनेको छ त्यो भूकम्पको असरले निर्माण भएको विज्ञहरूको दाबी छ ।

काठमाडौँको कुरा गर्दा विक्रम संवत् १२५५ सालको भूकम्प सबैभन्दा ठूलो आएको मानिन्छ । तत्कालीन राजा अभय मल्लको भूकम्पमा परेर मृत्यु भएको थियो । झन्डै ९ रेक्टर स्केलको मानिएको भूकम्पको केन्द्रबिन्दु भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । त्यस बेला काठमाडौँको कुल जनसंख्यामध्ये ३३ प्रतिशत जनसंख्याको भूकम्पमा परेर मृत्यु भएको अनुमान छ । ८ रेक्टरस्केल भन्दा माथिका भूकम्पको पुनरावृत्तिका लागि झन्डै ५/६ सय वर्ष लाग्ने विभिन्न अध्ययनले देखाएको छ ।

हालैको अध्ययनले विक्रम संवत् ११०० मा समेत ८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प गएको देखाएको छ । यसले छोटो अवधिमा पनि ठूला भूकम्प जाने कुरा देखाउँछ । भूकम्पको केन्द्रबिन्दु पत्ता लागेको भए बागमती र त्रिवेणी क्षेत्रमा भूकम्प जान सक्छ भन्ने अध्ययनलाई प्रमाणित गर्ने थियो । तर तत्कालै आउँछ भन्न नसकिने भएकाले जोखिमबाट बच्ने आधार खोज्नु नै बुद्धिमत्ता हुने भूकम्पविद्ले बताएका छन् ।

भूकम्पले आफैँ मान्छे मार्दैन, २०७२ सालको भूकम्प हामीले भोगेका छौँ । भूकम्प अचानक आउँछ । त्यसले यसबारेमा राम्रो ज्ञान हासिल गर्नु पर्छ । भूकम्पबाट भौतिक तथा मानवीय क्षति कम गर्न सुरक्षित संरचना बनाउन ध्यान दिनु पर्ने विज्ञहरुको जोड छ ।

२०७२ सालको गोरखा भूकम्पमा काठमाडौंबाट तिब्बतसम्मको क्षेत्रमा सञ्चय भएको शक्ति गएको देखिएपनि काठमाडौंदेखि तराईको चुरे क्षेत्रसम्म दक्षिणतर्फ अझै पनि शक्ति सञ्चित भएर बसेको विज्ञको अनुसन्धानले देखाएको छ । त्यसैले काठमाडौंदेखि दक्षिणतर्फ सञ्चित शक्ति भविष्यमा कुनै पनि बेला हलचल हुँदा ठूलो भूकम्पको जोखिम रहेको विज्ञ बताउँछन् ।

जमिनबाट ८० देखि १०० किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ । यी टुक्रालाई टेक्टोनिक प्लेट भनिन्छ । यस्ता प्लेटहरू समुद्रमा डुङ्गा तैरिए जस्तै गरी एस्थेनोस्फेयरमा तैरिएका हुन्छन् । तैरिने क्रममा प्लेटहरू एक आपसमा ठोक्किँदा, एक प्लेट अर्कोको मुनि घुस्दा त्यो क्षेत्रमा शक्ति सञ्चय हुँदै जान्छ । त्यो शक्ति त्यहाँको चट्टानले धान्ने भन्दा बढी भयो भने भूकम्प जान्छ ।

हिमालय रेन्ज दुईवटा प्लेटकोबीचमा पर्छ । भारतीय र तिब्बतीयन प्लेटकोबीचमा पर्ने भएकाले नेपाल भूकम्पको जोखिम क्षेत्रको रूपमा रहेको छ । करिब ५ करोड वर्ष पहिले दक्षिण तर्फबाट आएको इन्डियन प्लेट उत्तरमा रहेको यूरेसियन प्लेटसँग ठोक्किन पुगेको थियो । त्यसपछि ईन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन ।
हाल भूकम्पविद्हरुले गरेको अध्ययन अनुसार बैशाख १२ गतेपछि गोरखादेखि भारतको देहरादुनसम्म दुई वटा प्लेटहरु जुधेर बसेको तर भूकम्प नगएको अवस्था छ । यसकारण नेपालको गोरखादेखि र भारतको देहरादुनसम्मको क्षेत्र अति जोखिममा रहेको भूकम्पविद् बताउँछन् । साथै यो क्षेत्रमा धेरै समयदेखि प्लेट एकआपसमा जुध्दा ठूलो भूकम्पको लागि शक्ति सञ्चित भइरहेको उनीहरुको भनाइ छ । यसैले यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावना रहेकोले अहिलेबाट नै भूकम्प प्रतिरोधात्मक संरचनाहरु बनाउने पर्ने भूकम्पविदको सुझाव छ ।

भूकम्प कुन समयमा कुन स्थानमा जान्छ भनेर किटानका साथ पूर्वानुमान गर्न सक्ने प्रविधिको विकास हुनै सकेको छैन । तर भूकम्पीय जोखिमको विश्लेषण, अनुसन्धानबाट कहाँ कहाँ बढी जोखिम छ भन्ने पूर्वानुमान भने गर्न सकिने विज्ञ बताउँछन् । माटोको अध्ययनबाट कहिले भूकम्प गएको र अब कहिले जान सक्छ भन्ने कुराको अनुमान गर्न सकिने भए पनि यति बेलै जान्छ भनेर भन्न सकिँदैन ।

आज २६ औँ राष्ट्रि भूकम्प सुरक्षा दिवस मनाइरहँदा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ नारा तय गरेको छ । नाराले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणलाई जोड दिए पनि विगतलाई हेर्दा सरकार नीति कार्यान्वयनमा चुक्दै आएको स्पष्ट छ । नीति बनाउने र नारा तय गर्नका लागि मात्रै दिवस मनाउने हो भने यसलाई सान्दर्भिकता मान्न सकिँदैन ।

भूकम्पबाट हुने सक्ने क्षति रोक्न तीनै तहका सरकारको महत्वपूर्ण अग्रसरता र हातेमालोले विशेष महत्व राख्दछ । भविष्यमा आउन सक्ने भूकम्पबाट कुनै पनि नेपालीले ज्यान गुमाउन नपर्ने गरी बलियो र भूकम्पप्रतिरोधी संरचना निर्माणमा सरकारले आजैको दिनदेखि कडाइका साथ नियम कार्यान्वयन गरोस् । गोरखा भूकम्पमा ८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएको, हजारौँ घर तथा विभिन्न संरचनामा भएको क्षतिले यति चाँडै भूल्न नहुने कुरा हुन् । केही समय अगाडि मात्रै नेपालको पश्चिमी जिल्ला जाजरकोट र रुकुममा भूकम्पबाट भएको मानवीय तथा भौतिक संरचनामा पुगेको क्षति त ताजै छ । त्यसैले नेपाल भूकम्पीय उच्च जोखिममा रहेको विषयलाई सरकारले नजरअन्दाज गर्नै मिल्दैन । यसका लागि आवश्यक नीति निर्माणका साथै त्यसको कार्यान्वयनमा सरकार कुनै पनि हालतमा चुक्नु हुँदैन । भूकम्प सुरक्षा दिवसको सबैलाई शुभकामना ।

प्रकाशित : 16 January, 2024

प्रतिक्रिया दिनुहोस्