धनुषामा मृत भेटिएका राधेकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु
काठमाडौं । माघ २, धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।
चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए ।
ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे सहनी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।
मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्याइदिएका थिए ।
माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।