केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुराँसको राजधानी तीनजुरे हिउँले सेताम्मे

सहयात्रा टिभी

काठमाडौं । माघ ३, लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गम स्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ ।

गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलवार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्मे भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् ।

यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्घा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाेखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटेल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटेल व्यवसायी श्री कार्कीले बताए ।

उनले अहिले होटेल व्यवस्थापनमा भ्याइ नभ्याइ भएको जानकारी दिए। उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथीभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथीभरा मन्दिरसम्मको फुट ट्र्याक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् ।

विशेष गरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेका छन् ।

प्रकाशित : 17 January, 2024

प्रतिक्रिया दिनुहोस्