न्युजिल्याण्डकी एक सांसदले चोरीको आरोप लागेपछि दिइन् राजीनामा
काठमाडौं । माघ ३, न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।
ग्रिन पार्टीकी ४२ वषर्ीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।
पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
उनी सानै छँदा परिवारका सदस्यहरुसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् । उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो ।
संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् । पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् ।
अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । ‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन् ।