विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई सिधै रोजगारमा जोडौँ : मन्त्री शर्मा

सहयात्रा टिभी

काठमाडौं । माघ ३, सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् ।

सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइन् ।

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ ।

मन्त्री शर्माको उपस्थितिमा विभागका प्रमुख सरविन सायमी र सोसाइटिका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरे ।

उनले श्रम बजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिइन् । ‘अहिले विद्यार्थी कम भए भनिएका शैक्षिक कार्यक्रममा पनि यही तरिकाले आकर्षक बनाउन सकिन्छ’ , उनले भनिन् ।

सूचना प्रविधि अन्तरराष्ट्रिय प्रतिस्पर्धाको विषय भएको र त्यसबाट विद्यार्थीले घरमै बसेर पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अझ क्रियाशील हुनुपर्ने बताए ।

 

प्रकाशित : 17 January, 2024

प्रतिक्रिया दिनुहोस्