काठमाडौंमा वर्षामा आकाशबाट परेको पानी पुनः भरण हुने
काठमाडौं । माघ ७, काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने भएको छ ।
वर्षामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली काठमाडौं महानगरपालिकाले बनाएको छ ।
महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको हो ।
रिचार्ज प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ चेम्बर, दुइटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सातवटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
यो प्रणली ९ वैशाखदेखि सुरु गरिएको थियो । लागत ४३ लाख ६० हजार रुपैयाँबराबर छ । निर्माण साझेदारले उक्त प्रणाली र सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिका उपप्रमुख डंगोललाई हस्तान्तरण गरेका छन् ।
परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाब बढ्ने अपेक्षा गरिन् ।