यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । माघ १०, यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ : ४५ बजे खेल सुरु हुनेछ ।
देव खनालको कप्तानीमा रहेको नेपाली टिमलाई बलिङमा सुधार गर्नुपर्ने चुनौती छ । दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको नेपालले आज पाकिस्तानी मिडियम फास्ट बलर उबैद शाहसँग जोगिएर ब्याटिङ गर्नुपर्नेछ । पाकिस्तानको टिममा पाकिस्तान सुपर लिग ‘पीएसएल’मा अवसर पाइसकेका खेलाडी छन् ।
पेसावर जालमीबाट फ्रेन्चाइज लिग खेल्ने मोहम्मद जिसन, कराची किङ्सका साद बैग र इस्लामाबाद युनाइटेडका उबैद शाह पाकिस्तानका उत्कृष्ट खेलाडी हुन् । जिसनले दुई महिनाअघि मात्र अन्डर नाइन्टिन एसिया कपमा नेपालको ६ विकेट गिराएका थिए ।
यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग नेपाल पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो । त्यो खेलमा शाहजैब खानले शतक प्रहार गरेका थिए । साख बैगले अर्धशतक बनाएका थिए । साद बैगको कप्तानीमा रहेको टिम उपाधि दाबेदारसमेत हो । दीपेश कँडेल र आकाश त्रिपाठीको साथ रहने बलिङले पाकिस्तानको शीर्ष क्रमलाई सस्तैमा समेट्न सके नेपालले टेस्ट राष्ट्रलाई स्तब्ध पार्नेछ ।
आठ वर्षअघिको विश्वकपमा पनि नेपाल र पाकिस्तानको भेट भएको थियो । सो खेल नेपालले १२२ रनले हारेको थियो । सन् २००२ को विश्वकपमा भने नेपालले ३० रनको जित दर्ता गरेको थियो । यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जित हात पारेको थियो ।