यस वर्षकै बढी चिसो महसुस आज हुम्लामा माइनस १० डिग्री सेल्सियस

सहयात्रा टिभी

काठमाडौं । माघ १०, हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।

 

जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।

जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।

जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।

 

प्रकाशित : 24 January, 2024

प्रतिक्रिया दिनुहोस्