केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनीमा राष्ट्रियसभा सदस्यको मतदान सुरु, मुख्यमन्त्री चौधरीले गरे पहिलो मतदान

सहयात्रा टिभी

रुपन्देही । माघ ११, लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८०को मतदान कार्य प्रारम्भ भएको छ । पहिलो मतदान प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन् ।

दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्रका रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्दैछन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुँदैछ।

लुम्बिनीमा कुल आठ हजार सात सय ५३ मतभार रहेकामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको मतभार जोड्दा पाँच हजार चार सय ४२ पुग्छ ।

एमालेसँग दुई हजार आठ सय १०, राप्रपासँग दुई सय ६९ र जनमत पार्टीसँग एक सय ५९ मतभार छ। लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला कलस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ। गठबन्धनबाटै नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । सत्तारुढ जनमत पार्टीको तर्फबाट अन्य कलस्टरमा नवलपरासीका बालगोविन्द चौधरी चुनावी प्रतिस्पर्धामा छन् ।

मतभारका हिसाबले लुम्बिनी प्रदेशमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अन्यमा उम्मेदवारी दिएका रुपन्देहीका निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन्। राप्रपाले महिला कलस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्