केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हिरासतबाट अभियुक्तलाई भगाउने एक पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ १२, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले प्रहरी हिरासतबाट अभियुक्तलाई भगाउने एक आरोपीलाई भारतको कोलकाताबाट पक्राउ गरेर ल्यायो ।

शुक्रबार मिनभवनमा पत्रकार सम्मेलन गरेर एसएसपी सोमेन्द्रसिंह राठौरले ११ माघमा पूर्वप्रहरी जवान समेत रहेका विरवल राय यादवलाई पक्राउ गरिएको सुनाए ।

सेवामा रहेकै बेला उनले २०६४ सालमा लागूऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीय नागरिकलाई भगाएका थिए । त्यसपछि आफू पनि भागेका थिए ।

१६ वर्षपछि प्रहरीले पक्राउ गरेर ल्याएपछि गरिएको पत्रकार सम्मेलनमा आफूलाई सार्वजनिक गर्दा यादव आफैं बोल्न अघि सरे, ‘।। १६ सालपछि सरले समातेर ल्याएको हो, अहिले जसले पनि गल्ती गर्‍यो भने नेपाल पुलिसले नछाड्ने रहेछ ।’

एसएसपी राठौरका अनुसार, महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई उनले २०६४ सालमा भगाएका थिए ।

रौतहटको पथरावुधराम–३ घर भइ काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत जवान यादवले नक्कली चिट बनाएर फिल्ड अधिकृत (इन्स्पेक्टर) ले बोलाएको भन्दै आलमलाई हिरासत कक्षबाट बाहिर निकालेका थिए । त्यसपछि उनलाई लिएर आफू पनि भारततिर भागेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसवापत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेको पाइएको प्रहरीले जनाएको छ ।

अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

 

प्रकाशित : 26 January, 2024

प्रतिक्रिया दिनुहोस्