दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण हुदा ५२ को मृत्यु

काठमाडौँ । माघ १५, दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।
बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । उनीहरुले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्प पनि आक्रमण गरेका थिए ।
सो आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकसहित ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । उसले विज्ञप्ति जारी गरेर आक्रमणको निन्दा पनि गरेको छ ।
गत वर्ष मार्चमा संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा रोकिएको छैन । सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो ।