धरान इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्ने

काठमाडौं । माघ १५, सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ ।
धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए ।
क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो ।
पूर्वीक्षेत्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले अन्वेषण,अनुसन्धान गर्ने स्थान र नयाँ आविष्कार गर्न खोज्ने धरानबासीको लागि स्थानीय आविष्कार केन्द्रले स्थान र आवश्यक पर्ने मेशिनरी औजार उपलब्ध गराउने तयारी रहेको जनाए ।
आविष्कार केन्द्रको सञ्चालन कार्यविधि बनाइनसकेको भन्दै उपमहानगरका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि बसेर सञ्चालन, प्रयोग, अनुसन्धान, अन्वेषणको कार्यविधि तयार गर्ने जानकारी दिए ।