केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रि. वि. मा परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ १५, त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ ।

विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरे ।

उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान सोमबार सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लागि घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।

सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट tuexam.edu.np लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।

यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुने छ ।

यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ । उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ ।

 

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्