भारतदेखि चीन सीमा जोड्ने गरी नयाँ ट्रेकिङ रुट सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) सार्वजनिक भएको छ ।

पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे ।

‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भू-भाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भू-भाग समेटिएको छ ।

आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिंखडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो । यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए ।

टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो ।

प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए ।

भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने दाबी गरिएको छ ।

 

प्रकाशित : 30 January, 2024

प्रतिक्रिया दिनुहोस्