कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्तिपत्र नै रद्द

काठमाडौँ । माघ १६, नेपाल विद्युत प्राधिकरणले लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्तिपत्र नै रद्द भएको छ ।
प्राविधिक सेवा, इलेक्ट्रिकल समूहरउपसमूह, तह ५, सुपरभाइजर पदका करिब ३७ जना परीक्षार्थीले १४ माघमा लिएको नियुक्ति पत्र रद्द गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणले विभिन्न आरक्षित समावेशी कोटामा पदपूर्ति हुन नसक्दा खुलातर्फबाट परीक्षामा सहभागी भएर वैकल्पिक उम्मेदवारलाई मौका दिएको थिएन ।
त्यसविरुद्ध जितेन्द्र सिंहसहितका उम्मेदवारले नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय काठमाडौंविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेका थिए ।
गत मंसिर २१, २७, २८ र २९ गते प्राधिकरणले प्रकाशित गरेको विभिन्न पदको नतिजा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले ८ माघमा अन्तरिम आदेश दिएको थियो ।
अन्तरिम आदेशपछि प्राधिकरणले दिइसकेको नियुक्ति पत्र रद्द गरिएको जनाएको छ । ‘नियुक्ति पत्र सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त नभएसम्मका लागि रद्द गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।