बागमतीमा सरकार र विपक्षी दलबीच अझै संघर्ष

काठमाडौं । माघ १७, चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसदका योजना समावेश गर्ने विषयमा बागमतीमा सरकार र विपक्षी दलबीच अझै संघर्ष चलिरहेको छ ।
सरकारले अब सांसदको योजना बजेटमा समावेश गर्न नसकिने बताएको छ भने विपक्षी दल नेकपा एमाले राप्रपाले भने समावेश गर्नैपर्ने अडान लिएका छन् । यही विवादका कारण प्रदेशसभा बैठक पनि चार महिनादेखि अवरुद्ध छ ।
गत १ असारमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएपछि विपक्षी दलहरु एमाले र राप्रपाले पूर्वाग्रही भएको आरोप लगाउँदै प्रदेशसभा निरन्तर अवरोध गरेका थिए । उनीहरुको अवरोधका कारण प्रदेशसभामा १२ असारमा सुरु भएको बजेटमाथिको छलफल प्रभावित भएको थियो ।
बजेटमा भेदभाव गरिएको र प्रभावशाली नेताहरुले आफ्नो गृहजिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाउँदै एमाले र राप्रपाले १२, १३ र १७ असारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सत्तापक्ष र विपक्षी दलबीच संवाद भएको थियो ।
त्यस क्रममा २० असारमा एमाले र राप्रपाका सांसदले छनोट गरेका केही योजनामा बजेट विनियोजन गर्ने सहमति भएको थियो । त्यसपछि २१ असारमा बजेटमाथि छलफल सकेर पारित गरिएको थियो ।
सरकारले पहिलो र दोस्रो अधिवेशनमा १२ वटा विधेयक तथा ५ वटा अध्यादेश प्रदेशसभामा ल्याएको थियो । जसमध्ये ८ वटा विधेयक पारित भएको छ । बाँकी ४ वटा विधेयक प्रदेशसभाको समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए ।