नक्कली भ्याट बिल प्रकरणमा न्यायाधीशहरूबीच राय बाझिएको खुलासा

सहयात्रा टिभी

काठमाडौं । माघ १७, नक्कली भ्याट बिलसँग सम्बन्धित विवाद निरुपणका क्रममा सर्वोच्च अदालतको पूर्ण इजलासमा न्यायाधीशहरू बीच राय बाझिएको खुलासा भएको छ ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई कर, जरिवाना र ब्याज निर्धारण गर्ने फैसलाको पुनरावलोकनमा न्यायाधीश डा. कुमार चुडालले फरक मत राखेका हुन् ।

न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले मंगलबार नक्कली भ्याट बिल प्रकरणको पहिलो मुद्दा पुनरावलोकनका क्रममा टुंग्याएको थियो ।

इजलासको नेतृत्व गरेका न्यायाधीश डा. चुडालले संयुक्त इजलासको फैसला उल्ट्याएर फेरि कर निर्धारणका लागि आदेश हुनुपर्ने राय दिएका थिए भने न्यायाधीशद्वय ढुंगाना र ढकालले संयुक्त इजलासको फैसला सदर हुनुपर्ने राय दिएका थिए ।

अदालतको कामकारबाही सकेपछि न्यायाधीशहरू प्रधानन्यायाधीशको चेम्बर (कार्यकक्ष) मा भेला हुने र केही समय अनौपचारिक गफ गर्ने प्रचलन छ ।

त्यसक्रममा राय बाझिएको विषयमा न्यायाधीशहरू बीच कुराकानी र ख्यालठट्टा समेत भएको एक न्यायाधीशले बताए । न्यायाधीश चुडाल नक्कली भ्याल बिल प्रकरणमा मुछिएका कम्पनीहरूले गरेको लागत कट्टाको दावीमा सकारात्मक थिए । कुनै कम्पनीले सामान बेचेको भनी कर निर्धारण भएपछि कहीं र कतैबाट किनेको हो र त्यसको मूल्य पर्छ भन्ने तर्क सम्बोधन हुनुपर्ने उनको राय थियो ।

त्यसैका आधारमा व्यवसायीहरूले दावी गरेको खर्च स्वीकारेर आयकर निर्धारणमा लचकता देखाउनुपर्ने उनको मत थियो । उनको दृष्टिकोणमा अरू दुई न्यायाधीश सहमत नभएपछि फरक मत लेखौं भनेर ‘राय बाझी हुने’ अवस्था आएको ती न्यायाधीशले बताए ।

 

प्रकाशित : 31 January, 2024

प्रतिक्रिया दिनुहोस्