खारेज गरिसकेको हेटौंडा कपडा उद्योगमा पुनः२ अर्ब खन्याउने तयारी

काठमाडौं । माघ १७, नेपाल सरकारले दुईपटक खारेज गरिसकेको हेटौंडा कपडा उद्योगमा पुनः राज्यको २ अर्ब रुपैयाँ खन्याउने तयारी थालिएको छ ।
२०५७ सालदेखि बन्द अवस्थामा रहेको उद्योग २०६० सालमै खारेजीमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
दोस्रो जनआन्दोलनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा राष्ट्रिय उद्योग चलाउने भन्दै पुनः यसलाई ब्यूँताइयो ।
त्यसबेला सरकारले उद्योग सञ्चालनका लागि ८ करोड रुपैयाँ खर्च गरे पनि यो सञ्चालन आउन नसक्ने देखिएपछि २०६६ सालमा पुनः खारेजीमा लगिएको थियो ।
तर, यसअघि राज्यले नै सञ्चालन गर्न नसक्ने भनेर खारेजीमा लगेको उद्योगमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै नेपाली सेनालाई चलाउन दिने तयारी सरकारले गरेको छ ।
सेनालाई उद्योग चलाउन दिने तयारी स्वरुप सरकारले अध्ययन गराएको थियो । नेपाली सेनाले नै गरेको अध्ययनले उद्योग पुनःसञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ ।