केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अधिवेशन स्थगित गरे पछि नेताहरु ओलीलाई भेट्न काठमाडौंमा

सहयात्रा टिभी

काठमाडौं । माघ २१, जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

अर्थात् गत १९ माघमा सुरु भएको जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेल र जिल्ला अध्यक्ष त्रिपाठीको फरक–फरक सूचना आएको थियो ।

यसपछि पार्टी अध्यक्ष ओलीले दुवै पक्षका नेताहरुलाई छलफल गर्न च्यासल बोलाए । ‘पार्टी अध्यक्षकै निर्देशन आएपछि अहिले जिल्ला अधिवेशन स्थगित गरेर नेताहरु च्यासल पुग्नुभएको छ । यहाँ प्रतिनिधिहरु अलपत्र छन्’, एक नेताले भने ।

धादिङको यो विवाद भने अध्यक्ष मण्डल चयनबाट सुरु भएको थियो । जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज रेशम लामा, केन्द्रीय सदस्य जानुका सिंखडा र प्रदेश सदस्यहरु धनबहादुर घले र ध्रुबराज विक रहेको अध्यक्ष मण्डल घोषणा गरेका थिए ।

 

प्रकाशित : 4 February, 2024

प्रतिक्रिया दिनुहोस्