केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौमा १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान

सहयात्रा टिभी

काठमाडौं । माघ २२, काठमाण्डौ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान गरेको छ ।

महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३ सय १८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३ सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १ सय ८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३ सय ४०, ३ सय ७४, १ सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो ।

महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार फराकिलो सडकमा १ सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

यी बत्ती राख्नका लागि पुराना र नयाँ गरी १ सय ७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७ सय १० मिटर तारको प्रयोग भएको छ ।

स्मार्ट बत्ती जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४ सय २१ वटा सोलार प्यानल हटाइएको छ । यी पोलहरू महानगरपालिका, विद्युत् प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए ।

रातको समयमा गाडी तथा मानवीय आउजाउ, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरले जनाएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ ।

११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाण्डौ महानगरले र ४० प्रतिशत रकम प्राधिकरणले बेहोर्ने सम्झौतामा उल्लेख छ ।

यसैबीच प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९ सय ७० मिटर तार आवश्यक पर्ने अनुमान छ ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएबापतको शुल्क महानगरले प्राधिकरणलाई बुझाउनेछ ।

 

प्रकाशित : 5 February, 2024

प्रतिक्रिया दिनुहोस्