सुरक्षित इन्टरनेट दिवस आज १७० वटाभन्दा धेरै देशमा मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, आज सुरक्षित इन्टरनेट दिवस नेपालसहित विश्वका १७० वटाभन्दा धेरै देशमा मनाइँदैछ ।

‘राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथै’ नाराकासाथ दिवस मनाउन लागिएको हो ।

दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न गराउन पैरवी गर्नेछ ।

साथै सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सङ्घसंस्था तथा अन्य सरोकारवालालाई एकताबद्ध हुन आह्वान गर्नेछ ।

सन् २००४ देखि नै हरेक वर्ष फेब्रुअरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २०१९ देखि मात्र दिवस मनाउन थालिएको हो ।

सूचना प्रविधिको विकासले फड्को मारेसँगै यसले मुख्यगरी बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पाइन्छ ।

अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको चाइल्डसेफनेटको सचिवालयले जनाएको छ ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्