भारत र कतारबीच नेचुरल ग्याँस खरिदबिक्री सम्झौता
काठमाडौं । माघ २४, भारत र कतारबीच लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) खरिदबिक्री सम्झौता भएको छ ।
यो खरिदबिक्री सम्झौता ७८ अर्ब डलर बराबरको छ । सम्झौता अनुसार भारतले कतारबाट २० वर्षसम्म अर्थात् सन् २०४८ सम्म एलएनजी ग्याँस किन्ने छ ।
यो प्राकृतिक ग्याँस बिजुली बाल्न, मल बनाउन र कम्प्रेस्ड नेचुरल ग्याँस (सीएनजी)मा बदल्न उपयोग गरिन्छ । पेट्रोल र डिजेलको तुलनामा प्राकृतिक ग्याँसलाई अधिक स्वच्छ विकल्प मानिन्छ । यो कच्चा तेलको तुलनामा सस्तो पनि छ ।
भारतको गोवामा जारी इण्डिया इनर्जी विक २०२४ को पहिलो दिनमै भारतमा सबैभन्दा धेरै एलएनजी आयात गर्ने कम्पनी पेट्रोनेट एलएनजी लिमिटेड (पीएलएल) र कतारको सरकारी कम्पनी कतार इन्र्जीका प्रतिनिधिहरुले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मंगलबार भएको यो सम्झौताअनुसार कतारले भारतमा हरेक वर्ष ७.५ मिलियन टन ग्याँस निर्यात गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पेट्रोनेटका अनुसार यसअघि उसले कतारसँग सन् १९९९ मा एलएनजी खरिद गर्ने सम्झौता गरेको थियो । त्यो सम्झौताको अवधि सन् २०२८ सम्म छ । तर चार वर्ष बाँकी छँदै त्यसलाई लम्ब्याएर सन् २०४८ सम्म कायम गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
बीबीसीका अनुसार कतारले विश्वमै सबैभन्दा धेरै एलएनजी ग्याँस निर्यात गर्दछ । उसले हालै अमेरिकालाई पनि पछि पारेको छ ।
कतारले हरेक वर्ष ७७ एमटीपीए ग्याँस निकाल्छ । कतारले सन् २०२७ सम्म १२६ एमटीपीए पुर्याउन चाहेको छ, ताकि अमेरिका घुस्न खोजेको एशिया र युरोपको बजारमा आफ्नो पकड मजबुत बनाउन सकियोस् । त्यसैले भारत र कतारबीच भएको यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ ।