पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द

सहयात्रा टिभी

काठमाडौं । माघ २५, पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।

सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ ।

सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।

पाकिस्तानमा आज ३३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १६९ सिट जित्नु आवश्यक छ ।

दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो । हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा बन्द छन् । उनलाई १४ वर्षको जेल सजायँ सुनाइएको छ ।

उनी नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए- इन्साफ (पीटीआई) लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । त्यसैले पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्