चितवन राष्ट्रिय निकुञ्जले पुरानै ढर्राबाट टिकट काटेर राजश्व उठाउँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २५, धेरैजसो सरकारी कार्यालयहरुले अनलाइन भुक्तानी प्रणाली सफलतापूर्वक कार्यान्वयन गर्दा चितवन राष्ट्रिय निकुञ्जले भनेर पुरानै ढर्राबाट टिकट काटेर राजश्व उठाउँदै आएको छ ।

खानेपानी, विद्युतको महसुल घरमै बसेर तिर्न अभ्यस्त हुँदै गर्दासमेत निकुञ्ज भित्र भ्रमण गर्दा काटिने टिकटका लागि भने नगद नै बोक्नुपर्ने र टिकट काट्न बिहानैदेखि लाइनमै बस्नुपर्ने बाध्यता छ ।

चितवन राष्ट्रिय निकुञ्ज अनलाइन टिकेटिङ्ग सिस्टममा नजाँदा निकुञ्ज प्रवेश गर्ने पर्यटक र होटल व्यवसायीहरूले दुःख र झन्झट झेल्दै आएका छन् ।

निकुञ्ज अनलाइन टिकटिङ्गमा नजाँदा त्यसको मार सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसायीहरु पर्दै आएका छन् । निकुञ्जका विभिन्न ६ वटा नाकाबाट टिकट काटेर पर्यटकहरूले जीप सफारी गर्दछन् ।

निकुञ्ज विभागबाट छाप लगाएर आएको टिकटमात्रै काट्ने गरी १४ जना जनशक्ति परिचालन गर्ने गरिएको छ । निकुञ्जले नेपालीसँग १५०, सार्क मुलुकका पर्यटकसँग १ हजार र तेस्रो मुलुकका पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गर्दछ । प्रतिजीपको एकपटक गएको ५ हजार लिने गरिन्छ ।

कतिपय होटलहरूले पर्यटकको टिकट काट्दा टिकट काउन्टरका कर्मचारीहरूले खुद्रा रकम नभएको भन्दै फिर्ता नदिने गरेकोसमेत गुनासो गर्दै आएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरले विभागले अनलाइन टिकेटिङ्गमा जान उदासिनता देखाएको बताए ।

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्