पोखरामा ५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्क्याउने २ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २५, पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालीका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ ।

गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यही क्रममा २४ गते भने उनीहरु पक्राउ परे ।

ज्यान मार्ने धम्कीसहित फिरौती मागेको आरोपमा पक्राउ परेका क्षेत्री पटके अभियुक्त हुन् । उनी यसअघि पनि २ पटक विभिन्न मुद्दा खेपिसकेको प्रहरीले जनाएको छ ।

क्षेत्री यसअघि २०७९ सालमा जिल्ला प्रहरी कार्यालय, पर्वतबाट हात हतियार तथा खरखजाना मुद्दा र २०७१ सालमा सार्वजनिक मुद्दामा पक्राउ परेका थिए ।

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्