व्यक्तिको नाममा दर्ता गरेको मसानघाटको जग्गा प्रशासनले फिर्ता ल्यायो
काठमाडौं । माघ २६, गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको मसानघाटको जग्गा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बदर गरिदिएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नं १० मा रहेको पितृ विसर्जन तथा शव दाहस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गर्न लागेपछि गत असोजमा उक्त घटना सार्वजनिक भएको थियो।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उक्त जग्गाको दर्ता बदर गरी जग्गा व्यक्तिको नाममा पुर्याउने गिरोहलाई समेतलाई कानूनी दायरामा ल्याउने तयारी गरेको जनाएको छ।
स्थानीय आमा समूहले २०४८ सालदेखि संरक्षण गरेको उक्त मसानघाटको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको समाचार प्रकाशन भएपछि प्रशासनले अनुसन्धान थालेको थियो।
मालपोत कार्यालयको अभिलेखअनुसार उक्त जग्गा २०७० साल वैशाख २८ गते अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्सुराम घिमिरेको नाममा दर्ता भएको देखिन्छ।
जिल्ला प्रशासन कार्यालयले लामो अनुसन्धानपछि गैरकानुनी ढंगले व्यक्तिका नाममा नामसारी समेत गरेको डेढ बिगाह क्षेत्रफलको सो जग्गा गत बुधवार सार्वजनिक कायम गर्ने निर्णय गरेको थियो।