चीनले आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन

काठमाडौं । माघ २६, चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागकी उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि चीनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफ्नो लगानीमा निर्माण भइरहेका आधा दर्जन आयोजना निर्माणमा तीव्रता दिने आश्वासन दिएको हो ।
प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार नेपालका लागि चिनियाँ राजदूत छन सङले प्रधानमन्त्री प्रचण्डलाई यही साता भेटेर करिब आधा दर्जन आयोजना निर्माणमा तीव्रता दिने प्रतिवद्धता प्रकट गरेका हुन् ।
सापकोटाका अनुसार काठमाडौं चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढाउने, हिल्सा–सिमिकोट सडक खण्ड विस्तार गर्ने र मितेरी पुलको शिलान्यास गर्ने, कृषि औद्योगिक पार्क निर्माणको अध्ययन गर्ने, टोखा–छहरे सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने र केरुङ–रसुवागढी २२० केभी अन्तरदेशीय प्रसारण लाइन अघि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग राजदूत छनले छलफल गरेका हुन् ।
त्यसैगरी हिल्सा–सिमिकोट सडकको ग्यारेज खोल्ने काम लगभग पूरा भइसकेको र नयाँ मितेरी पुल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली छिट्टै आउने भएको छ ।