केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नगर शिक्षा समितिले इटहरीका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने

सहयात्रा टिभी

काठमाडौं । माघ २६, इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् ।

ती विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी छन् । इटहरी भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने निर्णय गरेको इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

यसअघि निजी विद्यालयले आफू अनुकूलको ड्रेस लागू गरेका थिए । उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनु पर्ने पनि निर्णय गरेको छ ।

‘विद्यार्थीको पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उनले भने,‘ निजी स्कुलले स्कुलबाटै बिक्री गर्ने ड्रेसलाई रोक्ने पनि अभियान हो ।

नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको उनले बताए ।

विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ । उपमहानगरपालिकाले विद्यालयलाई किताब बेच्न पनि रोक लगाएको छ ।

 

प्रकाशित : 9 February, 2024

प्रतिक्रिया दिनुहोस्