पाकिस्तान चुनावमा इमरान खानका समर्थकहरू पहिलो स्थानमा आए
काठमाडौं । माघ २९, पाकिस्तानको चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरू पहिलो स्थानमा आएपछि दोस्रो र तेस्रो राजनीतिक समूहबीच सहकार्य हुने भएको छ ।
चुनावपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज ,पीएमएलएन र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ,पीपीपीले देशमा राजनीतिक स्थिरता ल्याउन मिलेर काम गर्ने योजना बनाएको बताएका छन् ।
उनीहरूले मिलेर सरकार गठन गरे भने खानका समर्थकहरू रुष्ट हुने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
पूर्व प्रधानमन्त्री खानको पीटीआई पार्टीलाई चुनावमा भाग लिनबाट रोक लगाइएपछि उहाँका समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगले चार दिनअघि भएको चुनावको पूर्ण परिणाम घोषणा गरिसकेको छ ।
राष्ट्रिय सभा (एनए) वा देशको संसद्को तल्लो सदनका लागि भएको चुनावको परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट प्राप्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीले ७५ सिट प्राप्त गरेको छ भने पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पार्टीले ५४ सिट प्राप्त गरेको छ ।