गौरिका र एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्डको नयाँ रेकर्ड स्थापित गरेकी हुन् ।

जलपरी उपनामले चिनिने गौरिकाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरका हुन् ।

यसअघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अब नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रकाशित : 16 February, 2024

प्रतिक्रिया दिनुहोस्