केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक, दयाहाङ र आँचलको रोमान्स

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट टिजर भिडियो सार्वजनिक गरेको हो ।

साढे तीन मिनेट लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । गाउँको बेरोजगार डिग्रीधारीलाई शिक्षकको जागिरमा लिन हेडमास्टरले कनिकुथी अंग्रेजीमा लिएको प्रसंगदेखि आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रको किस्सा यसमा छ ।

आँचल शर्मासँग दयाहाङ राईको रोमान्टिक दृश्य पनि यसमा समेटिएको छ । दयाहाङ र आँचलको शीर्ष भूमिका रहेको सोसल-ड्रामा फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर जसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटकसमेत मञ्चन भइसकेको छ ।

फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले बटमलाइन बनाएको छ । यो फिल्म वैशाख १ गते रिलिजको तयारी छ ।

रामबाबुले ‘डिग्री माइला’ रिलिजपछि २०८१ सालमा ‘सुन्दर बजार’ र ‘कबड्डी ५’ बनाउने तयारी गरिरहेका छन् ।

प्रकाशित : 20 February, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्