राप्रपाले आज काठमाडौंसहित देशभर जनप्रदर्शन गर्दै, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

सहयात्रा टिभी

काठमाडौं । फागुन ९, राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापना लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ । ५२ सालमा माओवादीले गरेजस्तै ४० बुँदे बुझाएर राप्रपा आन्दोलनमा होमिन आँटेको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. बाबुराम भट्टराईले ४० बुँदे माग बुझाएपछि माओवादी जनयुद्धमा होमिएको थियो । त्यही माओवादीका प्रधानमन्त्रीले आज ठिक विपरीत धारको मागपत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबाट बुझ्दैछन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे एक बजे प्रधानमन्त्री भेट्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । त्यसअघि राप्रपाले जनप्रदर्शन र आमसभासमेत गर्नेछ ।

दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमा गर्ने छ । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ । आमसभाकै क्रममा प्रमेख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापना लगायतका राजनीतिक माग तथा जनजीविकाका विषयहरू समेटिएका छन् ।

प्रकाशित : 21 February, 2024

प्रतिक्रिया दिनुहोस्