देशभर मौसम बदली, काठमाडौंमा वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । फागुन ९, काठमाडौं उपत्यकासहित देशैभर आज बिहानैदेखि बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए ।

उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए । बिहीबार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भूभागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक-दुई ठाउँमा मेघ गर्जन पनि हुनसक्ने उनले बताए ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ । यसको प्रभावले अघिल्ला दिनहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भएको थियो । उच्च पहाडी भेगका केही ठाउँमा हल्का हिमपात पनि भएको थियो ।

विगत चौबिस घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा र बागमती प्रदेशका थोरै भूभागमा वर्षा भएको मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

महाशाखाका मौसमविद अधिकारीका अनुसार विगत चौबिस घण्टामा गोरखामा १३.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटको विजयपुर रास्कोटमा ७ मिलिमिटर, डडेलधुरा ५.६ मिलिमिटर र अछाममा ४.८ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए ।

प्रकाशित : 21 February, 2024

प्रतिक्रिया दिनुहोस्