एमालेले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन दिए

काठमाडौं । फागुन ११, प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ ।
शुक्रबार विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।
विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।
एमाले सचेतक बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे । तर संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस् ।’