निर्वाचन आयोगले रेशम चौधरीको पार्टी सदस्यतामै उठायो प्रश्न

सहयात्रा टिभी

काठमाडौं । फागुन ११, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ ।

आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएको  दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो ।

पत्रमा नाउपाको विधानअनुसार उक्त पार्टीको पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय समितिमा रहेको हुनुपर्ने व्यवस्थाको समेत स्मरण गराइएको छ ।

नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ को धारा १५ मा पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य भएको हुनुपर्नेछ भन्ने व्यवस्था छ ।

रेशम चौधरी नाउपाको अध्यक्ष विधान सम्मत भएको हो भने उनी कहिले केन्द्रीय कमिटीमा थिए भनी खुलाउन आयोगले भनेको छ, ‘निज (रेशम लाल चौधरी) केन्द्रीय समितिमा कहिले र कुन कार्यकाल केन्द्रीय कमिटीमा रहेका थिए ? सो विवरण खुल्ने कागजात के छन ? त्यसका आधार र कारण के के रहेका छन ?’

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अध्यावधिकका लागि निर्वाचन आयोगमा नाउपाको निवेदन नपुग्दै उनीविरुद्ध दुई वटा उजुरी समेत परेका थिए । त्यस आधारमा आयोगले बिहीबार निर्णय नै गरेर शुक्रबार नाउपालाई पत्र पठाएको हो ।

उजुरी समेतको आधारमा आयोगले नाउपा र रेशम चौधरीलाई छुट्टाछुट्टै पत्र पठाएको हो । आयोगले सात दिनभित्र पत्रको जवाफ पठाउन भनेको छ ।

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्