जनमत पार्टीद्धारा दोस्रो गणतन्त्र आन्दोलन गर्ने घोषणा

काठमाडौं । फागुन १३, विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ ।
जनमतले राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार र अर्कमण्यताले देश असफल बन्ने ठाउँमा पुगेको भन्दै आन्दोलन आह्वान गरेको छ ।
शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भूटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर हुदै आए पनि छानबिन र कारवाही नभएको उल्लेख छ ।
जनमत पार्टीले आठ लाखभन्दा बढी युवाहरू बर्षेनी विदेशिन बाध्य भए पनि रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको आरोप लगाएको छ ।
चारैतिर निषेधित क्षेत्र घोषणा गरेर, अभिव्यक्ति स्वतन्त्रता हरण गरेर लोकतन्त्रको हत्या गर्ने काम सरकारले गरिरहेको जनमत पार्टीको आरोप छ ।
तरकारी र खाद्यान्नमा समेत भ्याट लगाएर सरकारले जनताबाट चर्को कर तथा राजस्व उठाइरहेको, तर भ्रष्टाचारको कारणले प्रहरी र कर्मचारीलाई तलब समेत खुवाउन असमर्थ रहेको जनमतको भनाइ छ ।